पर्वत सहितका धौलागिरी क्षेत्रमा टेलिकमले थ्रिजी सेवा थप विस्तार गर्दै

२२ चैत्र, पर्वत । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ स्थानको सेवालाई बढाएर ७३ स्थानमा पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

आउँदो बैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ स्थानबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ स्थानबाट ‘थ्रिजी’ सेवा चल्नेछ । यसअघि जम्मा नौ स्थानमा ‘थ्रिजी’ सेवा सञ्चालित थियो । सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ ।

हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गर्ने योजनामा नेपाल टेलिकम लागिपरेको छ । ‘थ्रिजी’ प्रविधिमार्फत भिडियो, भिडियो/भ्वाइस च्याट, तीव्र गतिको इन्टरनेट सर्फिङ लगायतका सेवा उपभोक्ताले पाइरहेका छन् ।

टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ । ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ । यस्तै, पाँच ‘जिवी’ लिँदा रु एक हजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असीमित सेवा लिन सकिने जनाइएको छ ।

  • prabhu-bank-sept26.gif