पर्वतको माझफाँटका बेहुला र बेहुली प्रहरी नियन्त्रणमा

 २९ फागुन,  पर्वत । बाजा गाजा र भोज भतेरको तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । पर्वतको माझफाँट गाविस-६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिँगारिएकी बेहुली प्रहरी नियन्त्रणमा परेका हुन् ।

आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट-६ स्थित घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली रहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्रेको हो ।

आइतबार विवाह सम्पन्न नहुँदै मिलनचोक प्रहरी चौकीबाट विवाहस्थलमा पुगेको प्रहरी टोलीले दुलहादुलहीसहित केही इष्टमित्रहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएरको छ ।

कुमारीले आफू हुँदाहुँदै श्रीमानले दोश्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले नियन्त्रणमा लिइ दुवै पक्षका आफन्तसहित छलफल गराउँदा  डिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसासमेत रित्ताएको आरोप लगाएका छन् । डिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोश्रो विवाह गरेर गएको आरोप समेत लगाएका छन् ।

यता कुमारीले भने आफू श्रीमान्को अनुमति विना कुनै पनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दावी गरेकी छिन् । डिलबहादुरले आफू विदेशमा रहँदा घरमा बृद्धआमालाई छाडेर गएको र श्रीमतीले औषधी उपचारमा ख्याल नगरिदिँदा आमाको ज्यान गएको भन्दै कुनै हालतमा कुमारीलाई नस्वीकार्ने बताएका छन् । उनका आफन्तहरुले समेत दोश्रो विवाह गएर गएको गाउँ सर्जिमन रहेको र सामाजिक प्रमाण समेत रहेको भन्दै न्याय दिलाउन माग गरेका छन् ।

कुमारीसहित कुमारीका आफन्तले भने प्रमाणसहित आउन दबाब दिएका छन् । आइतबार दिउँसो २ बजेदेखि ५ बजेसम्म भएको निरन्तर छलफलमा कुनै टुंगो लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज न्यौपानेले दुवै पक्षको रोहबरमा छलफल चलिरहेको जानकारी दिनुभयो ।   सन्तोष थापा

  • prabhu-bank-sept26.gif