पर्वतको फलामखानीमा हावाबाट विजुली निकाल्ने प्रक्रिया शुरु, एडिबिले सहयोग गर्ने

२६ फागुन, पर्वत । जिल्लाको दक्षिणी गाविस फलामखानीमा हावावाट विजुली निकाल्ने प्रक्रिया शुरु भएको छ । जैविक उर्जा प्रवद्र्धन केन्द्र अन्तर्गत एसियाली विकास वैंक (एडिबि)को सहयोगमा फलामखानीमा हावाको चापबाट विजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरण शुरु भएको हो ।

प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयबासीसंगको छलफल भएको जैविक उर्जा प्रवद्र्धन केन्द्रका सौर्य बायु विज्ञ खिमराज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अन्तराष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाको रेकर्डमा उक्त स्थानमा हावाबाट विद्युत निकाल्न सकिने रेकर्ड देखिएकोले उक्त स्थानलाई सम्भावित क्षेत्रको रुपमा लिइएको हो । पहिलो चरण अन्तर्गत उक्त स्थानमा हावाको चाप नाप्ने उइन मेट्रोलोजिक टावर राखिने छ ।

झण्डै ३५ लाखको लागतमा एसियाली विकास बैंकले उक्त टावर ब्यवस्थापनको खर्च नेपाल सरकारलाई उपलब्ध गराउने भण्डारीले बताए । टावरले १ देखि २ बर्ष भित्रमा हावाको चापको क्षमता र सम्भावित विद्युत उत्पादनको रकर्ड देखाउने छ । सोहि रेडर्कका आधारमा विद्युत उत्पादन गर्ने गरी आयोजना शुरु हुने भण्डारीले बताए ।

यस अघि पनि विद्युत उत्पादनको कार्य भएपनि त्यो संरक्षण र मर्मतको अभावमा बन्द भएको थियो । २०६३ सालमा शुरु भएको उक्त योजना हाल पूर्ण बन्द रहेको छ । झण्डै २ हजार २ सय मिटरको उचाईमा रहेको फलामखानीको डाँडाबाट विद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि राज्यले यस अघि भने चासो देखाएको थिएन ।

प्रारम्भिक चरणको अध्ययन गरेर फिल्डबाट फर्केका भण्डारीले झण्डै ५० मिटरको उचाईमा राखिने अध्ययन टावरका लागि भने स्थानीय स्तरमा रहेको एनसेलको टावरले समस्या सृजना गरेको बताए । उनले विद्युत लाइनका काठे पोल र एनसेलको टावर हटाउने ब्यवस्था स्थानीयस्तरबाट हुँदा साथ विद्युत उत्पादनका लागि आवश्यक थप प्रक्रिया अगाडि बढाइने बताए । हाल एसियाली विकास बैंकको सहयोगमा जैविक उर्जा प्रवद्र्धन केन्द्रले नवलपरासी, मुस्ताङ, पाल्पा र कर्णाली क्षेत्रमा पनि यस्तै प्रकारको आयोजना शुरु गरेको भण्डारीले जानकारी दिए ।

आयोजनाको सम्पूर्ण खर्च एसियाली विकास वैंकले उपलब्ध गराउने हुँदा स्थानीय र नेपाल सरकारको भने उक्त कार्यमा रकम खर्च नहुने उनले बताए । स्थानीय स्तरमा टावर र विद्युत उत्पादन केन्द्रका लागि जग्गा ब्यवस्थापन गर्न पर्ने केन्द्रको प्रावधान रहेको समेत उनले बताए ।

उता, जिल्ला विकास समिति पर्वतका उर्जा इन्जिनियर मञ्जु शिलाकारले यस अघि पनि विद्युत उत्पादन भएर बन्द भएको फलामखानी गाविसमा विद्युत उत्पादनका लागि प्रक्रिया अगाडि बढिरहेको बताईन । उक्त कार्यका लागि जिविस र स्थानीय निकायले सहजीकरण मात्र गर्ने र अरु सवै प्रक्रिया एसियाली विकास वैंकको सहयोग सञ्चालीत कार्यक्रमले अगाडि बढाउने उनले जानकारी दिईन ।

  • prabhu-bank-sept26.gif