बन्द यान्त्रिक पुल (तुईन) १९ दिन पछि सञ्चालनमा, ३३ प्रतिशत भाडा बृद्धि हुँदै

७ फागुन, पर्वत । १९ दिन अघि देखि बन्द रहेको कुश्मा–बलेवा यान्त्रिक पुल (तुईन) १९ दिन पछि सञ्चालनमा आएको छ । मर्मतका लागि स्थानीयको दबाब आएपछि बन्द भएको यान्त्रिक पुल शनिवार १९ औं दिन देखि सञ्चालनमा आएको कुश्मा–बलेवा यान्त्रिक पुल कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पुल बन्द हुँदा झण्डै १० लाख बराबरको कम्पनीले घाटा ब्यहोरेको छ । पर्वत महोत्सव सञ्चालन भईरहेको समयमा गत माघ १८ गते देखि बन्द रहेको उक्त पुलका कारण महोत्सवमा समेत असर परेको थियो । बलेवा क्षेत्रबाट महोत्सव अवलोकनका लागि आउने दर्शक पुल सञ्चालनमा नआउँदा महोत्सव हेर्न नआएका कारण महोत्सवले समेत झण्डै ५ लाख बराबरको आम्दानी गुमाएको कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तुईत प्रविधिमा मोटर जटित पुलको मुख्य लठा चुडिन थालेपछि वलेवा क्षेत्रका महिला समूहले सामूहिक रुपमा कम्पनीमा ताला बन्दी गरेका थिए । स्थानीयले ताला बन्दी गरेको दोस्रो दिनपछि पुल बन्द गरिएको कम्पनीका अध्यक्ष श्रेष्ठ बताउँछन । ‘प्राविधिक रुपमा पुल सञ्चालन गर्न समस्या थिएन’ अध्यक्ष श्रेष्ठ भन्छन–‘स्थानीयको माग बमोजीम सञ्चालनमा बन्द गरेका हौं ।’
लठामा २६ वटा साना क्वाइलहरु हुने भएकाले २/४ वटा क्वाइल चुडिदैमा पुल बन्द नै गर्नपर्ने बाध्यता थिएन । श्रेष्ठले भने –‘पुलमा आवत जावत गर्ने स्थानीयले नै जोखिमपूर्ण छ भनेकाले हामीले बन्द गरेका थियौं ।’ कालीगण्डकी नदीको खोँचमा निर्माण गरिएको उक्त तुईनले पर्वतको कुश्मा र बागलुङ जिल्लाको बलेवा क्षेत्रलाई जोड्छ । पुल निर्माणका लागि झण्डै ४ करोड ९३ लाख लागत लागेको थियो । हाल पुल मर्मत गर्दा भण्डै ४ लाख रकम खर्च भएको अध्यक्ष श्रेष्ठले बताए ।
लठाको बुल्डेज केबल मर्मत गरिएको छ ।

मर्मत पछि तुईन शनिवार देखि पूर्णरुपमा सञ्चालनमा छ । यान्त्रिक तुइनमा आवात जावतका लागि बलेवा क्षेत्रका बासिन्दालाई ७५ रुपैंया र अन्य यात्रुलाई १ सय रुपैंया शुल्क निर्धारण गरिएको थियो ।

कम्पनीका अध्यक्ष श्रेष्ठका अनुसार यान्त्रिक पुलको चालु खर्चमा बृद्धि र महंगी बढेको भन्दै आगामी चैत्र महिना देखि झण्डै ३३ प्रतिशत भाडा बृद्धि गर्ने तयारी गरीएको छ । आगामी चैत्र महिना देखि बलेवा क्षेत्रका बासिन्दाका लागि १ सय र अन्य यात्रुलाई १ सय २५ रुपैंया भाडा समायोजन गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठ बताउँछन । ५ सय ५० मिटरको लम्बाईमा यात्रा गर्न कम्पनीले उक्त भाडा समायोजन गर्न लागेको हो ।

१९ दिन देखि बन्द पुल सञ्चालनमा आएको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै कम्पनीका पदाधिकारीहरु
  • prabhu-bank-sept26.gif