पर्वतमा प्रहरीलाई १०० मा फोन गर्दा काठमाडौंमा पुग्छ

२६ माघ, पर्वत । तपाईं पर्वतमा केही घटना, दुर्घटनाबारे प्रहरीलाई जानकारी गराउँदै हुनुहुन्छ र १०० मा फोन गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् । जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको हटलाइन नम्बर १०० को फोन पर्वतमा नभएर काठमाडौं पुग्छ ।

प्रहरीले कुनै अपराधिक क्रियाकलाप भएमा १०० मा खबर गर्नुहोस् त भन्छ तर त्यो फोनमा डायल गर्दा नजिकको प्रहरी कार्यालयमा पुग्दैन । केही महिना अघिदेखि पर्वत प्रहरीको फोनमा यस्तो समस्या देखिन थालेको हो । कुनै घटना सम्बन्धी प्रहरीलाई जानकारी गराउन खोज्दा पटक–पटकमहानगरीय प्रहरी कन्ट्रोल रानीपोखरी काठमाडौंमा पुग्छ ।

ल्याण्डलाइन फोनबाट सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क भएपनि नेपाल टेलिकमको मोबाइल फोनबाट प्रहरीमा सिधा सम्पर्क हुँदैन । रानीपाखेरी प्रहरीले पर्वतलगायत बागलुङ र म्याग्दीको फोन समेत आउने गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले काठमाडौंबाट जारी भएको मोबाइलबाट प्रायजसो समस्या देखिने गरेको र पटक पटक नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो । उहाँले पुनः टेलिकमलाई यस सम्बन्धी जानकारी गराउने बताउनुभयो ।

यता नेपाल टेलिकम पर्वतले यस सम्बन्धी कुनै जानकारी नआएको बताएको छ । टेलिकम पर्वतका प्राविधिक प्रमुख केशव भुसालले हटलाइन समस्याका बारेमा केही जानकारी नपाएको र समस्याका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराएर समाधानको विकल्प खोज्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस