प्रदीप नेपाल भन्छन्, ‘पुष्पकमलको काम नै भारतलाई खुसी तुल्याउनु हो

पछिल्लो राजनीतिक अवस्थालाई तपाईँले नजिकबाटै नियालिरहनुभएको होला । कस्तो लागिरहेको छ ?
संक्षिप्तमा भन्दा अयोग्य, अबुझ, असक्षम र अकमण्र्य नेतृत्वको कारण देशले अहिले निकै ठूलो समस्या झेल्नुपरिरहेको छ ।

अहिले संविधान संशोधनको विषयले निकै चर्को रुप लिएको छ । यही कारण अहिले देश आन्दोलित बनेको छ । अझ, ५ नम्बर प्र्रदेशका जनता त सबैभन्दा बढी आन्दोलित भएका छन् । यसको पछाडि के कारण होला ?
अहिले अयोग्य र असक्षम व्यक्तिहरुले देशको नेतृत्व गरेका छन् । यस्तो अवस्थामा यी समस्या आउनु स्वाभाविकै हो । एउटा कुरा स्मरण गराउँ । संविधान जारी गर्ने बेलामा प्रदेश सीमांकन संसद्ले नै गरेको थियो । प्रदेशको सीमांकन हेरफेर गर्ने र संशोधन गर्ने जिम्मा प्रदेश सभालाई दिने भन्ने प्रष्ट व्यवस्था संविधानमै छ । प्रदेश हेरफेर गर्ने अधिकार संघीय संसद्लाई छैन ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको संयन्त्रका अध्यक्ष शेरबहादुर देउवा मिलेर संविधान विरोधी काम गरिरहेका छन् । संविधान विरोधी काम देश नबुझेका, संविधान नबुुझेका र जनताका अधिकारका बारेमा केही पनि जानकारी नभएका व्यक्तिले मात्र गर्ने हो । अहिले पुष्पकमल र शेरबहादुर आफैंले बनाएको संविधान विरोधी काममा तल्लीन भएका छन् । उनीहरुले गरेका यो संविधान विरोधी काम सफल हुने कुनै पनि सम्भावना देखिँदैन । संसद्बाट पनि संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना रहेको छैन । यी अयोग्य र सामन्ती चेत भएका नेताका कारण देश नराम्रो चक्रब्युहमा फस्दै छ ।

पुष्पकमल दाहाल र शेरबहादुर देउवा आफ्नै बुद्धिले भन्दा पनि छिमेकी मुलुक भारतको इशारामा नाचेकाले अहिले समस्या भएको भनिन्छ नि ?
म सत्य मात्रै बोल्छु । जे सत्य हो, त्यही मात्र बोल्ने मेरो बानी छ । प्रचण्डले कुनै बेला भारतको अटलविहारी वाजपेयीको सरकारसँग आत्मसमर्पण गर्दै ‘हाम्रो जनयुद्धलाई सहयोग गर्ने कुनै पनि राष्ट्रको अहित हुने गरी हामी काम गर्ने छैनौं । उहाँहरुको हित नै हाम्रो पनि हित हो’ भनेर कागज गरेको इतिहास हामीले भुलेका छैनौँ । त्यसैले भारतले यसो भन्यो, उसो भन्यो भन्नुको कुनै तुक छैन । भारतलाई खुसी बनाउने त पुष्पकमलको पहिलो दायित्व नै भइहाल्यो । भारतकै काम गर्ने पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला भारतले अह्राएअनुसार काम भयो भनेर आलोचना गर्नुको कुनै तुक देखिँदैन ।

अर्का पात्र कांग्रेस सभापति देउवाका बारेमा त धेरै कुरा गर्नै पर्दैन । मैले आज बिहान मात्र एउटा पत्रिका पढेको थिएँ । उनले ‘पूर्वराजा ज्ञानेन्द्रले निरंकुश ढंगले सत्ता सञ्चालन गर्दा खोसेको सत्ता हामीले ल्याएका हौं, हामी कुनै पनि निरंकुश व्यक्तिहरुसँग डराउँदैनौँ’ भनेर भनेका रहेछन् । मलाई त्यो पढ्दा लाज लाग्यो । ढाँट्नको पनि हद हुन्छ नि ? ढाँट्न पनि निर्लज्ज तरिकाले किन ढाँट्नु ? तिनै शेरबहादुरले ज्ञानेन्द्रलाई लगेर सत्ता बुझाएका होइनन् ? ‘मैले गल्तीले सत्ता लगेर ज्ञानेन्द्रलाई बुझाएको थिएँ । धन्न पार्टीले फिर्ता ल्यायो’ भनेको भए हुन्थ्यो । यस्ता निर्लज्ज कुरा गर्ने व्यक्तिका बारेमा के चर्चा गर्नु ? राम्रा मान्छेको चर्चा नेपालमा गर्नै पाइँदैन । काम न काजका यस्ता ठेट्नाहरुको चर्चा गर्नु पर्दा मलाई घिन लाग्न थालेको छ ।

अहिलेको नेतृत्वबाट संविधान कार्यान्वयन हुने सम्भावना निकै कम देख्नुभएको हो ?
यस्तो नेतृत्वबाट देश एक इन्च पनि अघि बढ्दैन । बरु देश ओरालो–ओरालो लाग्दै जान्छ । अहिले देश कहाँ पुग्ने हो भन्ने चाहिँ बढी चिन्ता भएको छ । यिनीहरुले देश चलाउन्जेल देश ओरालो मात्रै लाग्छ । बरु कहाँ पुग्ने हो भन्ने त्यसकै बढी चिन्ता छ ।

अहिले केही मधेसी नेताहरुले मधेस नै नेपालबाट अलग गर्नेसम्मको चेतावनी दिएका छन् । उनीहरुको यस्तो चेतावनीको पछाडि के रहस्य रहेको ठान्नुभएको छ ?
मधेसको प्रतिनिधि अहिले महन्थ ठाकुर हुन् कि, शत्रुधन महतो हुन् ? मधेसको प्रतिनिधि हृदयेश त्रिपाठी हुन् कि बैजनाथ चौधरी हुन् ? मधेसको प्रतिनिधि राजेन्द्र महतो हुन् कि, तराईका जनताको मन जितेर सांसद् बनेका कुनै मधेसी नेता हुन् ? त्यसैले हरुवाले जति कराए पनि त्यसको कुनै अर्थ छैन । आफ्नो क्षेत्रमा १०–१२ हजार भोट पनि ल्याउन नसक्नेले ठूलो कुरा गर्न सुहाउँछ ? पहिला जनप्रतिनिधि बन्नु पर्छ अनि मात्र बोल्ने अधिकार हुन्छ । दिल्लीको अनुवाद बोलेर हुन्छ ?

अहिले तराई–मधेसमा पारीबाट आएका ‘बाजी’ हरुले हैकम जमाए भन्ने चिन्ता छ । यो चिन्ता पहाडीको होइन, मधेसी जनताकै हो । अहिले फेरि उपेन्द्र यादव गएर निर्वाचन लडुन् । उनले जित्ने कुनै सम्भावना छैन । पहिला पनि विजयकुमार गच्छदार, उपेन्द्र यादव सबैले हारेकै हुन् । उनीहरुलाई दया गरेर मात्र जिताइएको हो । हरुवाहरुलाई नेता मान्ने अनि जनताको मतले जितेर आएकाहरुलाई चाहिँ नेता नमान्ने कतै हुन्छ ? रामचन्द्र यादव जनताको प्रतिनिधि हुन कि महेन्द्र राय यादव ?

हाम्रै केही नेता पनि तराई जान्छ कि जान्छ, भन्छन् । म दाबीका साथ भन्छु, तराई कुनै पनि हालतमा एमालेको पकडबाट बाहिर जाँदैन । पहिला नाकाबन्दीका बेला पनि तराई झर्ने आँट गर्ने पार्टी एमाले नै थियो । अहिले पनि तराईमा झर्ने आँट गर्ने पार्टी एमाले नै हो ।

म अहिले पनि दाबीका साथ भन्न सक्छु, प्रदेश नम्बर दुई हाम्रा कारणले होइन भारतकै कारण सधैँ समस्यामा रहिरहन्छ । यो कुरा किन केही मधेसी नेताले बुझेका छैनन् । मलाई अचम्म लागेको छ ।

अहिले एकपछि अर्को गर्दै पहाडबाट अलग गरेर प्रदेश निर्माण गर्दा देश नै अलग हुने हो कि भन्ने चिन्ता एमालेले बढी गरेको हो ?
अहिलेको प्रादेशिक संरचनालाई हेरफेर गर्ने कुरा नै असंवैधानिक छ । त्यसैले यो अहिले आएको संविधान संशोधनको प्रस्ताव नै गलत भएपछि यो विषयमा कुरा गर्नु नै उचित देखिँदैन । अहिले संविधान संशोधनको ‘डिजाइन’ पुष्पकमल दाहाल, शेरबहादुर देउवा र विमलेन्द्र निधिको हो । यी सबै संविधान विरोधी हुन् । यस्ता संविधान विरोधीले ल्याएको संशोधन मान्नुपर्छ भन्ने केही छैन । यी संविधान विरोधीलाई जनताले पनि माफी दिनेवाला छैनन् ।

के संविधान संशोधन प्रस्ताव जसरी पनि असफल बनाउने एमालेको रणनीति हो ?
असफल होइन, संसद्मा प्रस्तुत हुनै दिनु हुँदैन । १०–१२ लाख मानिस संविधान संशोधनको विपक्षमा उत्रिएका छन् । १०–१२ जनाले रहर गरेर संविधान संशोधन हुन्छ ? प्रदेश नम्बर पाँचका कुनै पनि जनता अलग हुन चाहेका छैनन् । यस्तो अवस्थामा केहीले अलग गर्नैपर्छ भनेर अपराधी काम गर्दा सबैले साथ दिनुपर्छ भन्ने केही छैन । माओवादी अहिले देश भत्कियोस्, मासियोस् तर चुनावमा जान तयार छैन । त्यसैले यस्ता वितण्डा मच्याइरहेको छ । काँग्रेस पनि त्यस्तै पार्टी हो । ऊ पनि यसैगरी वर्षौंसम्म खान चाहन्छ । त्यसैले यी दुईको कुरा मिलेर यस्तो भएको हो । यदि निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गरेको अवस्थामा एमाले संसद् चल्न दिन तयार छ, नभए किन दिने ?

यही अवस्थामा २०७४ माघमा तीन तहकै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन हुने सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?
दाहाल र देउवाकै नेतृत्वमा सत्ता रहने हो भने देश झनै बर्बाद हुन्छ । पुष्पकमल, शेरबहादुर र विमलेन्द्र देशका पीडा हुन् । यिनीहरु रहुन्जेल देश यस्तै बर्बादीकै दिशातिर अगाडि बढ्छ ।

पहिलो न्यूजबाट साभार

  • prabhu-bank-sept26.gif